एलओडीमा राजश्वको टोली राति ग्राहक बनेर पस्यो, बिहान छापा मार्‍यो

काठमाडाैं | साउन ३०, २०८०

एलओडीमा राजश्वको टोली राति ग्राहक बनेर पस्यो, बिहान छापा मार्‍यो फाइल तस्बिर

राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेको छ। 

 

कर छली गरेको आशंकामा विभागले एलओडीमा छापा मारेको हो। राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एलओडीले सरकारलाई तिर्ने गरेको करबारे बुझ्न खोजेको बताए। ‘हामीले उसको करको स्थिति हेर्न खोजेका हौं। अरू कुरा अनुसन्धानकै क्रममा छ,’ उनले भने। 

 

त्यसक्रममा केही कागजातहरू पनि नियन्त्रणमा लिएको उनले बताए। विभागको टोली गत शुक्रबार राति एलओडी पुगेको थियो।काठमाडौं उपत्यकाकै चर्चित क्लबमा शुक्रबार र शनिबार राति भीड लाग्ने गर्छ। ग्राहक धेरै आउने गरे पनि सरकारलाई तिर्ने कर भने कम हुनसक्ने आशंका विभागलाई थियो। त्यसकै आधारमा विभागले शुक्रबार राति एउटा टोलीलाई खटाएको थियो। 

 

स्रोतका अनुसार विभागको टोली सादा पोशाकमा ग्राहक बनेर राति २ बजे एलओडी पसेको थियो। मध्यराति धेरै ग्राहक हुने भएकाले विभागको टोली २ बजे पसेको थियो। ‘राति १२ बजेदेखि क्लब चलेर बिहान ६ बजेसम्म हुने रहेछ। त्यसैले रातिको २ बजे ग्राहक बनेर गएको थियो,’ स्रोतले भन्यो। टोलीले त्यहाँ आउने ग्राहकको संख्या, क्लबले ग्राहकलाई गर्ने बिल भुक्तानी लगायतका कामहरू नियालेको थियो। 

 

एलओडीले त्यहाँ खाएको बिलसमेत नदिने गरेको टोलीले पाएको थियो। अन्दाजी २३ सयभन्दा बढी ग्राहक आउने ठाउँमा बिल पनि भुक्तानी नगर्ने गरेको स्रोतले बतायो। ‘विभागको टोलीले अन्दाजी २३ सय बढी ग्राहकको संख्या गन्यो। खाएको बिल भुक्तानी पनि नगरेको पायो,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधिहरू रातभर हेरेर मात्रै छापा मारिएको हो।’

 

ग्राहक कम भइसकेपछि बिहान ५ बजे विभागको टोलीले छापा मारेको हो। त्यसपछि शनिबार मध्याह्न १२ बजेमात्रै फर्किएको थियो। विभागले त्यहाँ रहेको काउन्टरहरू पनि सिल गरेको छ। पैसा राख्ने खुत्रुकेहरू र केही अफिस रहेका कोठा पनि सिल गरेको स्रोतले बतायो। कसैलाई भने नियन्त्रणमा लिएको छैन।

 

यसका सञ्चालकहरूलाई भने विभागले बोलाएर अनुसन्धान गरिरहेको छ। केही समयअघि पनि एलओडीका सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

 

नाबालिगलाई क्लब भित्र छिराएको आरोपमा प्रहरीले सञ्चालकहरूलाई पक्राउ गरेको थियो। पछि म्यानेजरसहित केही कर्मचारीलाई पक्राउ गरी सञ्चालकहरूलाई छाडेको थियो। 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्